
नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पनि खेल्न नसक्ने भएका छन् । सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने खेलमा सोमपालले खेल्न नसक्ने भएका हुन् ।
गत आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपालले अमेरिका र वेस्ट इन्डिजसँगको खेल गुमाएका थिए । जिम्बावेविरुद्ध ३४ औं ओभरको तेस्रो बलमा जिम्बावेका ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो । नेपाली क्रिकेट टोलीको स्रोतका अनुसार सोमपालको बुढी औंलाको साइटमा काट्न पुगेको छ । त्यसैको कारण उनको हातको बुढी औलाको साइटमा दुई वटा टाँका लगाईएको छ । उनलाई चिकित्सकले एक हप्ता विश्राम गर्न भनेका छन् । उनले आगमी आइतबारपछि टाँका खोल्ने सम्भावना छ । त्यसैले सोमपालले नेदरल्यान्ड्सविरुद्धको खेल पनि खेल्न सक्ने भएका हुन् ।
यदि नेपाल सुपर सिक्समा पुगेको खण्डमा भने सोमपाल फिट हुने छन् । नेपाल समूह चरणबाटै बाहिरिएपनि छैटौं देखी १० औं नम्बरसम्मको स्थानको लागि दुई खेल खेल्न पाउनेछ । उक्त प्लेअफका दुई खेल वा सुपर सिक्समा तीन खेलमा सोमपाल फिट हुने सम्भावना रहेको बुझिएको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो । अमेरिकालाई ६ विकेटले हराएको थियो । उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित हुँदा अमेरिकालाई ५ विकेटले हराएको थियो । नेपाल सुपर सिक्समा पुग्न आजको खेलमा विजयीसँगै नेदरल्यान्ड्स अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजसँग पराजित हुनुपर्ने हुन्छ ।
कुनै टिप्पणी छैन। आफ्नो विचार साझा गर्ने पहिलो व्यक्ति बन्नुहोस्!
साइन इन छलफलमा सहभागी हुन