इलाम र संखुवासभा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा विजयी हुँदै इलाम र संखुवासभाले एकअर्कासँगको भेट पक्का गरेका हुन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा पहिलो सेमिफाइनलमा ओखलढुंगालाई १–० ले हराउँदै इलाम अन्तिम दुईमा पुगेको हो । खेलको ३९ औँ मिनेटमा इलामका विशाल तामाङले गरेको गोल नै निर्णायक भयो । खेलको म्यान अफ द म्याच उनै विशाल भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र दुर्गाबक्स गणका प्रमुखसेनानी ४ हजार रुपैयाँ र मेडल प्रदान गरे । दोस्रो सेमिफाइनल खेलमा खोटाङलाई १–० ले हराउँदै संखुवभसभा फाइनलमा पुगेको हो । खेलको २५ औँ मिनेटमा संखुवभसभाका मन्दिप राईले गोल गर्दै फाइनल यात्रा पक्का गरे । मन्दिप खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र जिल्ला समन्वय समिति ओखलढुंगाका उपप्रमुख तारा कार्कीले ४ हजार रुपैयाँ र मेडल प्रदान गरे । फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले उपाधिले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले ५ हजार रुपैयाँ र ट्रफी पाउने छन् ।
कुनै टिप्पणी छैन। आफ्नो विचार साझा गर्ने पहिलो व्यक्ति बन्नुहोस्!
साइन इन छलफलमा सहभागी हुन